इजरायली हवाई आक्रमणमा यमनका हुथी स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल–राहवी मारिएको पुष्टि भएको छ ।
इरान समर्थित हुथी समूहले बिहीबार इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यमनको राजधानी सानामा गरेको आक्रमणमा राहावी सहित अन्य धेरै वरिष्ठ अधिकारी मारिएको जनाएको छ । आईडीएफका अनुसार लडाकु विमानहरूले सानास्थित एक भेलामा आक्रमण गर्दा राहावी र उनका अन्य सहयोगी अधिकारी मारिएका हुन् ।
२०१४ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सत्ता च्युत गर्दै विनाशकारी गृहयुद्ध सुरु गरेयता हुथी विद्रोहीहरूले उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग नियन्त्रणमा लिएका छन् । हुथीहरूले भने राहावी सहित आफ्ना कैयौँ मन्त्री मारिएको जनाए पनि नाम सार्वजनिक गरेका छैनन् ।
साउदी अरेबियाको समाचार साइट अल–हदथ का अनुसार हुथीका विदेशमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुदमन्त्री, सामाजिक मामिला तथा श्रम मन्त्री पनि मारिएका छन् । यस्तै, हुथी अध्यक्ष महदी अल–मशातको कार्यालयले आक्रमणमा परी अन्य मन्त्रीहरू गम्भीर घाइते भएको जनाएको छ।
यसैबीच अब हुथी उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले राहावीको जिम्मेवारी सम्हाल्ने बताइएको छ। राहावीले सन् २०२४ अगस्टदेखि पद सम्हालेका थिए । उनी सैन्य रणनीतिक निर्णयमा प्रत्यक्ष संलग्न नभए पनि आन्दोलनको प्रमुख राजनीतिक व्यक्तित्वको रूपमा रहेका थिए ।
आईडीएफले शनिबार राति विज्ञप्ति जारी गर्दै उक्त भेलाबारे प्राप्त गुप्तचर जानकारीका आधारमा आक्रमण गरिएको र अपरेशनको सम्पूर्ण प्रभावको मूल्याङ्कन भइरहेको जनाएको छ ।