प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच मन्त्रीको नाम सिफारिस गरेकी छन् । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको नाम राष्ट्रपति समक्ष पठाइएको हो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि स्थगित गरिएको छ । एक मन्त्रीका अनुसार मिश्राको नियुक्ति ‘होल्ड’मा राखेर अन्यलाई आजै शपथ गराउने तयारी भएको हो । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरूको शपथ दिउँसो २ बजे हुने तय भएको छ ।
प्रधानमन्त्री कार्कीले सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरेकी छन् ।
सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिकमा सेवा निवृत्त भएका थिए । साउन २०७३ मा उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
मिश्रा स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव हुन् । जेन–जी आन्दोलनपछि मन्त्रालयमा फर्किएकी उनले आइतबार मात्र राजीनामा दिएकी थिइन् । २०५७ मा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी २०७० मा खुला प्रतिस्पर्धामार्फत पुनः सेवामा फर्किएकी थिइन् । उनले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेकी छन् ।
शिक्षामन्त्रीमा सिफारिस भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका उनी सामाजिक अभियन्ताका रूपमा परिचित छन् । रोमन म्यागासेसे पुरस्कार विजेता पुन लामो समयदेखि विज्ञान अनुसन्धान र आविष्कारका क्षेत्रमा सक्रिय छन् ।
सूचना तथा सञ्चार मन्त्रीका लागि सिफारिस भएका जगदीश खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन् । उनले खरो अन्तर्वार्ता लिने पत्रकारका रूपमा पहिचान बनाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रीमा सिफारिस मदनप्रसाद परियार जलवायु तथा कृषिविज्ञ हुन् । हाल उनी समता फाउन्डेसनका अध्यक्षसमेत छन् । संविधानसभाको राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको संयोजक भएर पनि उनले काम गरेका थिए ।
जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा अर्थ मन्त्रीमा रामेश्वर खनाल, ऊर्जा मन्त्रीमा कुलमान घिसिङ र गृह मन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् । कार्कीले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने घोषणा गरेकी छिन् ।