काठमाडौँ । भारतले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चार चरणमा पाकिस्तानलाई सहज रूपमा पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । यसअघि समूह चरणमा पनि भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले दिएको एक सय ७२ रनको लक्ष्य भारतले १८.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले ७४ रनको उत्कृष्ट पारी खेले भने शुभमन गिलले ४७ रन योगदान गरे । त्यस्तै तिलक वर्मा ३० रनमा अविजित रहँदा सन्जु स्यामसनले १३ रन बनाए । पाकिस्तानका ह्यारिस रौफले दुई विकेट लिनुका साथै फहिम असरफ र अब्रार अहमदले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको थियो । पाकिस्तानका लागि शहिबजादा फरानले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी सइम अयुब र महम्मद नवाजले समान २१–२१ रन, फहिम असरफले अविजित २० रन, कप्तान सलमा आगा अविजित १७ रन, फखर जमानले १५ रन र हुसेन टलाटले १० रनको योगदान दिए ।
बलिङतर्फ भारतका शिवम् दुबेले दुई विकेट झारे भने हार्दिक पाण्डेय र कुलदीप यादवले एक–एक विकेट हात पारे ।