अफगानिस्तानका १३ वर्षीय बालक आइतबार भारतीय राजधानी दिल्ली पुगेका छन् । बालक अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । विमान भारतीय समयअनुसार बिहान १० बजेर २० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, टर्मिनल ३ मा अवतरण भयो ।
अवतरण पछि विमानका कर्मचारीहरूले फ्लाइट नजिकै एक बालक घुमिरहेको देखे। तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि बालकलाई हिरासतमा लिएर प्रहरीलाई सुम्पिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइटको ल्यान्डिङ गियरमा बसेको बताएका छन् । नाम र विवरण नखुलाइएका बालक अफगानिस्तानको कुन्दुज शहरका हुन् ।
काबुल एयरपोर्टमा प्रवेश गरेको बेला बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको पुष्टि भएको छ । विमानको पूरा जाँचपछि यसलाई सुरक्षित घोषणा गरिएको थियो। सुरक्षा जाँचमा बालकसँग रहेको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर पनि फेला परेको थियो ।
अन्ततः आइतबारै बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ ।