त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४८ वर्षीय भारतीय नागरिक रोनक मदनी रहेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयको टोलीले उनलाई विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ८३५ ग्राम सुनसहित पक्राउ गरेको हो । इण्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा शंका लागेपछि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगलमा भिडियो एक्स-रे गरिएको थियो ।
परीक्षणका क्रममा उनको मलद्वारभित्र तीन वटा डल्लामा लुकाइएका सुन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।