काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को काठमाडौँ उपत्यकामा देखिन थालेको छ । कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रहरूमा मानिसहरू गाडीको प्रतिक्षा गरिरहेका छन् ।
दसैँ नेपालीहरूको महान् चाड भएकाले काठमाडौँलाई कर्मथलो र अध्ययन स्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन्। केही सडक खण्डहरूमा वर्षापछि आएको पहिरोका कारण यात्रुहरू अलपत्र परेका छन् ।
वीपी राजमार्ग हुँदै पूर्वतिर यात्रा गर्नेहरू गौशाला, कोटेश्वर क्षेत्रमा भीडभाड देखिएको छ । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा समस्या भएको यात्रुहरूले बताए ।
विगतका वर्षहरूमा अग्रिम टिकटको व्यवस्था हुँदा यात्रुहरूले पहिल्यै टिकट काटेर घर जान सक्थे । तर यस वर्ष अग्रिम टिकटको व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परेको छ । केही यात्रुहरूले रिजर्भमा पुगेका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो गरेका छन् ।