काठमाडौँ | हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशको पहाडी भूभागमा सामान्यतया बदली रहेकाछ, जबकि बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन स्थानीयवासी र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।