काठमाडौँ । भारत र पाकिस्तानबीच ४१ वर्षमा पहिलो पटक एसियाकप क्रिकेटको फाइनल खेल हुँदैछ । आइतबार राति ८:१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस बहुप्रतिक्षित प्रतिस्पर्धामा बलियो प्रदर्शन गरिरहेको भारत र फाइनलमा उत्कृष्ट रेकर्ड बनाउँदै आएको पाकिस्तान एक–अर्कासँग उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने भएका छन् ।
यसअघि समूहचरण र सुपर–४ मा दुई पटक भिड्दा भारतले पाकिस्तानलाई सहजै पराजित गर्दै उपाधिको बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ । तर फाइनलको इतिहास भने पाकिस्तानकै पक्षमा छ। पाकिस्तानले पछिल्लो १८ वर्षयता भारतसँग कुनै पनि फाइनल हारेको छैन। यही कारण यो फाइनललाई क्रिकेटप्रेमीले विशेष चासोका साथ हेरेका छन् ।
यो प्रतियोगिता एसियाकपको १७ औं संस्करण हो। अघिल्ला १६ संस्करणमा दुबै टिमले फाइनलमा एकअर्काविरुद्ध कहिल्यै खेल्ने अवसर पाएका थिएनन् । यस पटक पहिलो पटक फाइनलमा भिड्दै गर्दा दुबै टिम आफ्ना कट्टर प्रतिद्वन्द्वीलाई हराएर ऐतिहासिक जित हासिल गर्ने उद्देश्यमा रहेका छन् ।
१९८४ मा अंकको आधारमा भारतलाई च्याम्पियन घोषणा गरिएको थियो । त्यसपछि भएका १५ फाइनलमध्ये १३ पटक भारतले एकतर्फी जित हात पारेको छ । त्यसबाहेक दुई पटक उपाधिको छिनोफानो अन्तिम बलमा मात्र टुंगिएको थियो ।
भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा यो १३ औं पटक फाइनल वा ट्राइसिरिजको अन्तिम प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका १२ फाइनलमध्ये पाकिस्तानले ८ पटक र भारतले ४ पटक जित निकालेको छ ।
पछिल्लो पटक यी दुई टिम २०१७ को आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा आमनेसामने भएका थिए, जसमा पाकिस्तान विजयी भएको थियो । भारतले भने अन्तिम पटक २००७ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानलाई हराएर उपाधि चुमेको थियो ।