यस वर्षको बडादसैँमा प्रधानमन्त्री सुशीला कार्की टीका नलगाउने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्की टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको हो ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा थुप्रै युवाले ज्यान गुमाएको पीडालाई सम्मान गर्न उनले यस्तो निर्णय लिएकी हुन् ।
“यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम छैन,” भन्ने उल्लेख बडादसैँको पावन अवसरमा आज (सोमबार) जारी शुभकामना सन्देशमा गरिएको छ ।
प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र संसारभर छरिएका नेपाली भाषी समुदायलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएकी छन् ।
साथै उनले निर्धारित मितिमा प्रतिनिधि सभा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएकी छन्। उनका अनुसार वर्तमान सरकार युवापुस्ताको अभूतपूर्व आन्दोलनकै जगमा बनेको हो र त्यसैको बलमा निर्वाचन सम्पन्न गरिनेछ ।