जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारदेखि सोमबारसम्म मधेश प्रदेश कोशी र बागमती प्रदेश हुँदै बग्ने नदी–नालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।
शुक्रबार जारी गरिएको विशेष विज्ञप्तिमा विभागले कोशी, कमला, बागमती, नारायणी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र केही स्थानमा खतरा तह नाघ्न सक्ने प्रक्षेपण गरेको हो । विभागले भनेको छ, “कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने स–साना नदी–नालामा अकस्मात् बहाव हुन सक्ने सम्भावना उच्च रहेको छ ।”
विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्ने अनुमान गरिएको छ । दसैंमा आवतजावत गर्ने यात्रुहरूको भीड हुने भएकाले सडक तथा हवाई यातायातमा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सरिरहेको छ । सो प्रणालीका कारण मनसुनी वायु नेपालमा प्रवेश गर्ने भएकाले तीन दिनसम्म मनसुनी गतिविधि सक्रिय हुने देखिएको हो ।
आजको मौसम
आज सबै प्रदेशमा साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।
आज रातिको पूर्वानुमान
आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।