सप्तरीको अग्नीसाइर कृष्णसारन गाउँपालिकामा फैलिएको अनियमितता, कुशासन र भ्रष्टाचारको विरोधमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिका स्तरीय बेथिति–विसंगति विरुद्ध संघर्ष समिति गठन गरी आन्दोलनरत स्थानीयले अध्यक्ष दिनानाथ चौधरीसहित सम्पूर्ण जनप्रतिनिधिलाई सामूहिक राजीनामा दिन चेतावनी दिएका हुन् ।
संघर्ष समितिका अगुवा तुलसी थारुका अनुसार गाउँपालिका अध्यक्ष चौधरीको गैरजिम्मेवार व्यवहार र नैतिक पतनका कारण पालिकाभित्र चरम भ्रष्टाचार बढेको छ । कर्मचारीलाई दशैंमा समेत तलब–भत्ता उपलब्ध गराउन नसक्ने, निर्माण व्यवसायी र उपभोक्ता समितिको भुक्तानी रोक्ने, कर्मचारीबीच गुटबन्दी फैलाउने लगायतका कारण गाउँपालिकामा बेथिति उत्कर्षमा पुगेको उनको आरोप छ ।
स्थानियवासीले अध्यक्षले दिउँसै मदिरा सेवन गरी कार्यालय आउने, सार्वजनिक स्थलमा अश्लील शब्द प्रयोग गर्ने, पदिय मर्यादाविपरीत गतिविधि गर्ने तथा गाउँबासीलाई सार्वजनिक रूपमा अपमान गर्ने काम गर्ने गरेको गम्भीर आरोप पनि लगाएका छन्। यस्ता गतिविधिमा अन्य जनप्रतिनिधिले मौन समर्थन जनाएकाले उनीहरू समेत संलग्न रहेको ठहर गर्दै सामूहिक राजीनामा माग गरिएको आन्दोलनकारीहरूको भनाइ छ ।
आन्दोलनरत समूहले विदाको समयमा सरकारी गाडी चलाउन नपाइने भन्दै नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएका छन् । “पालिका भित्रका सरकारी नम्बर प्लेट भएका सवारीसाधन सार्वजनिक बिदामा दुरुपयोग नहोस् भनी नियन्त्रणमा लिएर गाउँ प्रहरीलाई जिम्मा लगाइएको हो। बाहिर रहेका गाडी पनि बुझाउन भनिएको छ। दुरुपयोग भए नियन्त्रण गरी आगजनी गरिनेछ,” संघर्ष समितिका अगुवा थारुले चेतावनी दिए ।
संघर्ष समितिका सचिव मिलन कुमार चौधरीका अनुसार आन्दोलनकारीको माग जायज भएको भन्दै उपाध्यक्ष कल्पना कुमारी चौधरीसहित केही वडा अध्यक्षहरूले आफैं प्रयोग गर्दै आएका सरकारी गाडीको चाबी स्वस्फूर्त बुझाएर समर्थन गरेका छन् ।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै संघर्ष समितिले दशैंपछि अझ सशक्त आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ ।