मकवानपुर प्रशासनले हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकीयातायात सञ्चालनमा रोक लगाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जारी गरेकाे सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म बेलुकीयातायात बन्द गरिएको हो । सूचनामा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख छ ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सम्भावित विपद् न्युनिकरणका लागि यो निर्णय लिइएको प्रजिअ श्रेष्ठले बताएका छन् ।
यस अवधिमा अत्यावश्यक कार्यबाहेक लामो दूरी र रातिको यात्राबाट बच्न आग्रह गर्दै उनले पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्क रहन स्थानीय तहलाई निर्देशन दिएका छन् । नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
यस्तै, विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह तथा सम्बन्धित साझेदार संस्थालाई निरन्तर समन्वय र सम्पर्कमा रहन निर्देशन दिइएको छ ।