मधेश प्रदेशका विभिन्न स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा बढी वर्षा रौतहट जिल्लामा भएको छ ।
पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर, गौरमा २४३.६ मिलिमिटर र गरुडामा १९१.८ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यसपछि पर्सामा बढी वर्षा भएको छ । पर्साको मुर्लीमा २३१.८ मिलिमिटर र वीरगंज भरीमा २२१.६ मिलिमिटर वर्षा भएको छ ।
बारामा कलैयामा २१०.६ मिलिमिटर, निजगढमा १५७.८ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार आज राति समेत थप वर्षा हुने सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।