जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार आज कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। साथै, कोशी र मधेश प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । यी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ, जसका कारण मौसम फेरि वर्षामुखी बनेको बताइएको छ ।