विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्स ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ ।
अलायन्सका सदस्यहरू आज (सोमबार) टंगालस्थित अख्तियार मुख्यालय पुगेर प्रमुख आयुक्त राईलाई सम्बोधन गरिएको लिखित पत्र दर्ता गरेका हुन् । यसअघि उनीहरूले हिजो मात्र इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेका थिए ।
समूहका नेता रिजन राना (आदित्य)ले भने, “हामीले आज भौतिक उपस्थितिमै पत्र दर्ता गर्यौं। अब पनि राजीनामा नआए, अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले त्यसबारे सल्लाह भइरहेको छ,” उनले बताए ।
यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाएको थियो । विज्ञप्तिमा भनिएको छ, “अख्तियारको नेतृत्व तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ बिना गरेको नियुक्तिले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।”
अलायन्सले विशेष अदालतको हालैको निर्णय उद्धृत गर्दै प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’को टिप्पणी आएको उल्लेख गरेको छ । त्यसका आधारमा राईको निष्पक्षता र नैतिकताको प्रश्न उठेको दाबी गरिएको छ ।
समूहले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिदजस्ता ठूला प्रकरणहरूमा पनि प्रमुख आयुक्त राईको नाम जोडिँदै आएको उल्लेख गर्दै उनीहरूले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिनुपर्ने माग गरेका छन् ।
अहिले संघीय संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने उनीहरूको भनाइ छ ।
जेनजी मुभमेन्ट अलायन्समा हाल ३९ वटा जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह आवद्ध रहेका छन् ।
भिडियाे सामाग्री