अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर भएको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत इजरायल र हमासले सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, “यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमाभित्र आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।”
ट्रम्पले यो सम्झौतालाई अरब र मुस्लिम देशहरू, इजरायल तथा यसका छिमेकी राष्ट्रहरूका साथै अमेरिकाको लागि ऐतिहासिक दिन भनेका छन् । साथै, उनले यस सम्झौता सम्भव बनाउन मध्यस्थता गरेको भन्दै कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।
ट्रम्पको उक्त भनाइसँगै हमासद्वारा अपहरणमा परेका विपिन जोशीको मुक्ति प्रति आशा पलाएको बताइन्छ । बुधबार राति मात्रै जोशी बोलिरहेको दुई वर्ष पुरानो भिडियो सार्वजनिक भएको थियो, जसले उनको जीवित अवस्थाको प्रमाणका रूपमा लिइएको छ ।