गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाबापत हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले हालसम्म रु १ अर्ब ५८ करोड ५६ लाख बराबरको भुक्तानी गरिसकेका छन् ।
बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धेरैजसो दाबीहरूमा अग्रिम भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल ३ हजार ९९ बीमा दाबीका आवेदन परेका छन् । तीमध्ये सम्पत्ति बीमा ६५३, मोटर बीमा २ हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।
प्रदेशगत रूपमा कोशीमा ३९६, मधेसमा ३५५, वाग्मतीमा १ हजार ६६९, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिममा १९९ बीमा दाबी दर्ता भएका छन् । यो विवरण यही असोज २३ गतेसम्मको हो ।
बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्समा सर्वाधिक रु ५ अर्ब ६१ करोड ४४ लाख बराबरको बीमा दाबी परेको छ । सो कम्पनीले हालसम्म रु ५९ करोड ४४ लाख बराबरको रकम बीमितहरूलाई भुक्तानी गरेको छ। त्यसैगरी, द ओरियण्टल इन्स्योरेन्समा रु ५ अर्ब २४ करोड ४७ लाख बराबरको बीमा दाबी दर्ता भएको छ भने सो कम्पनीले रु ५ लाख ७० हजार मात्र भुक्तानी गरेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७५ करोड ९७ लाख बराबरको दाबी परेको छ र सो कम्पनीले रु ३० करोड ४३ लाख बराबरको रकम बीमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा रु २ अर्ब ४० करोड ८६ लाख बराबरको बीमा दाबी भएको छ भने सो कम्पनीले रु ३१ करोड ९४ लाख बराबरको भुक्तानी गरेको छ ।
हाल मुलुकभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति भएका निजी संरचनामध्ये धेरैजसोको बीमा भए पनि सरकारी तथा सार्वजनिक सम्पत्तिको भने बीमा नभएको प्राधिकरणले जनाएको छ ।