पर्सा | शुभ दिपावलीको अवसरमा जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको चौथो मेयर कप वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता मेघराज उपाध्याय क्रिकेट मैदान, मदुवाहाँमा भव्य रूपमा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम थिए । उद्घाटन समारोहमा सम्बोधन गर्दै उप–प्रमुख आलमले भने, “म बाल्यकालदेखि नै क्रिकेटमा रुचि राख्छु र बौलरको रूपमा पनि खेलिसकेको छु । खेलले शारीरिक र मानसिक रूपमा सुदृढ बनाउँछ । नेपालले टी–२० विश्व छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, र म चाहन्छु— तपाईंहरूमध्ये कोही भविष्यमा राष्ट्रिय टिममा देखिनुहोस् ।”
उहाँले सबै टिमहरूलाई निष्पक्ष खेल र जितका लागि अग्रिम शुभकामना दिनुभयो। उप–प्रमुख आलमले औपचारिक उद्घाटन फिता काटी ब्याटिङ गरेर गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पहिलो बल फ्याँकेर खेलको उद्घाटन गर्नुभयो ।
अध्यक्ष यादवले भने, “खेलकुदले गाउँपालिकाका युवाहरूलाई सकारात्मक बाटोमा ल्याउँछ। यसरी स्थानीय स्तरमै आयोजना गरिने प्रतियोगिताले नयाँ प्रतिभा निखार्न मद्दत पुर्याउँछ ।हाम्रो पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ, र आगामी दिनमा अझै ठूला प्रतियोगिता आयोजना गर्ने योजना छ ।”
उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष विहारी राउत नुनिया महतोले गर्नुभयो । कार्यक्रममा कार्यपालिकाका प्रमुख सन्देश यादव, कृषि शाखा अधिकृत दयानन्द चौहान,
लेखापाल सन्देश कुशवाहा, उपाध्यक्ष बबिता कुमारी, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडाअध्यक्षहरू, खेलप्रेमी तथा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।
आयोजकका अनुसार, चौथो मेयर कप क्रिकेट प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुदको विकास, आपसी सद्भाव र युवाहरूको सहभागिता बढाउने लक्ष्य राखेको छ ।