काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यरातमा आपत्तिजनक शब्दसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले उक्त स्टाटसमार्फत अमेरिका, भारत र चीनसहित नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्दै अश्लील शब्द प्रयोग गरेका थिए । शनिबार राति ११ बजेर ५६ मिनेटमा पोस्ट गरिएको उक्त स्टाटस केही बेरमै उनले हटाए पनि, सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट लिएर तीव्र आलोचना गरेका छन् । हाल फेसबुक र ‘एक्स’ (ट्विटर) मा बालेनको उक्त स्टाटसका स्क्रिनसटहरू भाइरल भइरहेका छन् ।
उनले आफ्नो स्टाटसमा अमेरिका, भारत र चीनसँगै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रलाई लक्षित गर्दै गाली गरेका थिए । त्यसमा उनले “सबै मिले पनि केही गर्न सक्दैनन्” भन्ने अभिव्यक्ति पनि दिएका थिए ।
बालेनको उक्त अभिव्यक्तिलाई धेरैले अशोभनीय र गैरराजनीतिक भन्दै आपत्ति जनाएका छन् ।