बुटवलमा एक विवाहित महिलासँग होटलमा बसेका पुरुषको मृत्यु भएपछि महिलामाथि किटानी जाहेरी परेको छ ।
बुटवल–३ फूलबारीकी ३० वर्षीया महिलामाथि बुटवल–६ चाँदवारीका ५६ वर्षीया पुरुषको मृत्यु प्रकरणमा मृतक परिवारले किटानी जाहेरी दिएका हुन् ।
प्रहरीका अनुसार ती महिला शनिबार दिउँसो आफ्ना दुई बच्चा लिएर उक्त पुरुषसँगै बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लजमा गएकी थिइन् । उनीहरूले होटलका दोस्रो र तेस्रो तलामा रहेका दुई वटा कोठा बुक गरेका थिए ।
एक कोठामा महिलाकी नाबालक छोरी र भतिजीलाई राखेर अर्को कोठामा महिला र पुरुष बसेका थिए । उनीहरूले कोठामै खाजा मगाएर खाएका थिए । तर केही समयमै पुरुष अचानक बेहोस भएपछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
‘होटलमा दुई कोठा लिएर बसेका पाहुनामध्ये पुरुष बेहोस भएपछि महिलाले होटल संचालकलाई खबर गरेकी थिइन् । एम्बुलेन्समार्फत अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रहेछन्,’ होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक र महिलाबीच कुनै पारिवारिक सम्बन्ध नरहेको खुलिएको छ । मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने उनले बताए ।
घटनापछि प्रहरीले होटल सञ्चालक, व्यवसायी संघका प्रतिनिधि र स्थानीय सरोकारवालाहरूसँग छलफल गरेको छ ।
मृतकका दुई छोरी र श्रीमती छन् । चाँदवारीमा घर भएका उनी मैनाबगरमा अटो व्यवसाय गर्थे । मुटुका बिरामी रहेका मृतकले औषधि सेवनका कारण जटिलता भएको हुन सक्ने आशंका छिमेकीहरूले व्यक्त गरेका छन् । मृतककी छोरीले महिलाविरुद्ध इलाका प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।