काठमाडौँ उपत्यकामा मेलम्चीको पानी फेरि नियमित रूपमा वितरण हुन थालेको छ ।
विगतका वर्षहरूमा जस्तै यसपटक पनि वर्षायाम सकिएलगत्तै मेलम्चीको पानी उपत्यकाबासीका लागि छाडिएको हो । तर यस वर्ष पहिलाका वर्षहरूमा जस्तो तामझाम र औपचारिक कार्यक्रम भने गरिएको छैन ।
विगतमा मेलम्चीको पानी काठमाडौँ ल्याउँदा ठुलो राजनीतिक प्रचारबाजी र औपचारिक कार्यक्रम हुने गर्थे । २०७७ असारमा पहिलोपटक सुरुङमा पानी खसाल्दा तत्कालीन खानेपानीमन्त्री विना मगरले सिन्धुपाल्चोकमा औपचारिक कार्यक्रम गरी काठमाडौँमा पत्रकार सम्मेलनसमेत गरेकी थिइन् । त्यसपछि २०७७ फागुनमा तत्कालीन मन्त्री मणि थापा र राज्यमन्त्री रामवीर मानन्धरले मेलम्ची मुहानमै पुगेर पानी पथान्तरणको शुभारम्भ गरेका थिए । त्यस्तै २०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा बटन थिचेर बागमतीमा पानी पठाउँदै औपचारिक घोषणा गरे भने राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा पानी वितरणको उद्घाटन गरेकी थिइन् ।
तर, त्यसपछि आएको बाढीले मेलम्ची खानेपानी आयोजनालाई ठूलो क्षति पु¥यायो र पानी आपूर्ति अनियमित भयो । पछिल्ला वर्षहरूमा पुनः वितरण सुरु गर्दा पनि तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रम गरेर पानी आपूर्ति पुनः सुरु गरेका थिए ।
तर यसपटक भने फरक दृश्य देखियो । प्रधानमन्त्री सुशीला कार्कीले स्वयं खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी भएकाले पनि मेलम्चीको पानी उपत्यकामा बिना तामझाम वितरण गरिएको हो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असोज ७–८ गतेदेखि नै काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भइसकेको हो । ‘बीचमा पानी परेकाले केही दिन डिस्टर्ब भएको थियो, अहिले भने नियमित वितरण भइरहेको छ,’ उनले बताए । उनका अनुसार ठुलो वर्षा नहुँदासम्म अब नियमित रूपमा मेलम्चीको पानी आउनेछ ।
उपत्यकाबासीले यस वर्ष करिब चार महिना मेलम्चीको पानी पाएका थिएनन् । वर्षा सुरु हुनुअघि नै आयोजनाले पानी छिटो ल्याउन योजना बनाएको थियो । प्रवक्ता पन्तका अनुसार मेलम्चीको सुरुङको १ नम्बर गेट वर्षायामअघि ढुंगामाटोले पुरिएको थियो, जसले बाढीबाट क्षति हुन पाएन । वर्षा सकिएलगत्तै ढुंगामाटो हटाएर मेलम्ची खोलाको पानी फेरि सुरुङमार्फत काठमाडौँ पठाइएको हो ।
वर्षाको समयमा मेलम्चीबाहेक अर्को सानो खोलाबाट पनि पानी ल्याइएको थियो । ‘त्यो पानीले पर्याप्त त राहत दिएन, तर काठमाडौँमा केही मात्रामा आपूर्ति कायम भयो,’ पन्तले बताए ।
तर मेलम्चीको पानी वितरण प्रणालीमा अझै समस्या रहेको उपभोक्ताहरूले गुनासो गरेका छन् । कतिपय स्थानमा रातिभर पानी आउँछ भने कतिपयमा एक सातासम्म पानी नआउने गरेको छ ।
प्रवक्ता पन्तका अनुसार अहिले पनि पुरानो वितरण प्रणालीमै आपूर्ति भइरहेको छ । ‘२४ घण्टे नयाँ आपूर्ति प्रणाली अझै बनेको छैन, त्यसैले केही क्षेत्रमा एक दिन बिराएर पानी पुर्याइने प्रयास भइरहेको छ,’ उनले बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि विभिन्न ट्याङ्की सञ्चालन र वितरण तालिका पुनर्संयोजन गर्ने तयारी गरिरहेको जनाएको छ ।