काठमाडौं । रञ्जित कुमारको चम्किलो प्रदर्शनसहित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।
१७५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्स १६.५ ओभरमै १२६ रनमा समेटियो । चितवनका रञ्जित कुमारले घातक बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले २ तथा शोहेल तान्वीर, सैफ जैब र कुशल मल्लले समान १–१ विकेट जोडे ।
विराटनगरतर्फ मर्चेन डी लिङ्गेले सर्वाधिक ३९ रन बनाए । २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनले टोलीलाई सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले साथ दिन नसकेपछि विराटनगर पहिलो हार चाख्न बाध्य भयो। प्रतिश जिसीले १२ बलमा ३० रन जोड्दा साम हिजलेट २२ रनमा आउट भए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। रवी बोपाराले उत्कृष्ट ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन बनाए । यो उनको जारी एनपीएलमा लगातार तेस्रो अर्धशतक हो । उनले इससे अघि कर्णाली याक्सविरुद्ध ५२ तथा लुम्बिनी लायन्सविरुद्ध ६६ रन बनाएका थिए ।
सैफ जैबले ३२, देव खनालले २८ र डेबिड मिलानले १७ रनको योगदान दिए। कुशल मल्ल अविजित २० रनमा रहे । विराटनगरका सन्दीप लामिछाने र मर्चेन डी लेङ्गेले समान २–२ विकेट लिए ।
जितसँगै चितवनले ३ खेलबाट ४ अंक जोडेको छ भने ६ अंकसहित विराटनगर शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।