सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरी टोलीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–२ निवासी २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन्। प्रहरीका अनुसार मोटरसाइकल चालक कबिराज राई तथा पछाडि सवार अपित राईको साथबाट स्रोत नखुलेको नगद फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।
बरामद नगद र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।