पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी प्रथम भएको छ ।
शुक्रबार सुरु भई शनिबार सम्पन्न प्रतियोगिताका विभिन्न खेल स्पर्धामा सबैभन्दा बढी स्वर्ण पदक जित्दै सन्ठी माविले रनिङ शिल्ड हात पारेको हो । प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी द्वितीय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर तृतीय स्थानमा रहे ।
शनिबार आयोजित प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उपाधि जित्न सफल सन्ठी माविका खेलाडीहरूलाई मेडल र रनिङ शिल्ड प्रदान गरे ।
वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, शिक्षा शाखा प्रमुख अशोक सिंह लगायतको उपस्थिति रहेको थियो ।