लोकआस्थाको महापर्व छठका अवसरमा नेपाली सेनाले छठीमाई र सूर्य भगवान्लाई सैनिक सम्मानसहित सलामी अर्पण गर्ने भएको छ । वीरगंजस्थित नेपाली सेनाको श्री श्रीजङ्ग गणले यस वर्ष पनि छठ पर्वको अवसरमा उक्त कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।
छठ पूजाको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा नेपाली सेनाको विशेष टोलीले सैनिक विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको श्री श्रीजङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिएका छन् ।
प्रमुख सेनानी कार्कीका अनुसार नेपाली सेनाले यसअघि दसैँको फूलपाती अर्थात् सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आएको थियो । गत वर्षदेखि भने वीरगंजमा छठ पूजाको अवसरमा छठीमाई र सूर्य भगवान्लाई समेत सलामी अर्पण गर्ने परम्परा सुरु गरिएको हो ।
कार्कीको नेतृत्वमा नेपाली सेनाको टोली वाद्यवादनसहित परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुग्नेछ । निर्धारित मार्गको परिक्रमा गरी छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा पुगेपछि सेनाको टोलीले सैनिक विधिअनुसार छठीमाई र सूर्य भगवान्लाई सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख सेनानी कार्कीले बताए ।
छठपर्वको अवसरमा नेपाली सेनाले छठीमाई र सूर्य भगवान्लाई सलामी अर्पण गर्ने परम्पराले धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।
पछिल्लो समय छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको छ । वीरगंजको घडिअर्वा पोखरीस्थित छठघाटमा हरेक वर्ष हजारौँ श्रद्धालु भक्तजनको सहभागितामा छठ पर्व मनाइँदै आएको छ ।