वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्व मनाउन वीरगंज आउन औपचारिक निमन्त्रणा पठाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुर जाने भएपछि समितिले प्रधानमन्त्री शाहलाई वीरगंजमै आएर छठ पर्वमा सहभागी हुन आग्रह गरेको हो ।
मंगलबार समितिका अध्यक्ष राकेश साह कानुसहितको टोलीले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निमन्त्रणापत्र पठाएको हो ।
समितिका अध्यक्ष साहका अनुसार देशकै आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजमा यस वर्ष पनि लोकआस्थाको महापर्व छठ भव्यताका साथ मनाउने तयारी गरिएको छ । नेपालमै चर्चित घडिअर्वा पोखरीस्थित छठघाटमा घडिअर्वा स्पोर्ट्स क्लबको आयोजना तथा छठ पूजा व्यवस्थापन समितिको व्यवस्थापनमा विगत दुई दशकदेखि आकर्षक सजावटसहित छठ पर्व मनाइँदै आएको छ ।
यस वर्ष कात्तिक २९ गते छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने समयमा घडिअर्वा पोखरीस्थित छठघाटमा उपस्थित भई छठी माताको आशीर्वाद ग्रहण गर्न प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको अध्यक्ष साहले जानकारी दिए ।
प्रधानमन्त्री शाह वीरगंज आएर छठ पर्वमा सहभागी भए समस्त वीरगञ्जवासीका लागि गौरव र सौभाग्यको विषय हुने अध्यक्ष साहको भनाइ छ ।