पर्सा प्रहरीले तीन दिनको अवधिमा करिब साढे ३ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ । दीपावली तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको पटका नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ बरामद गरेको हो ।
पर्सा प्रहरीले गत २१ कात्तिकदेखि जिल्लाभर पटका ओसारपसार, बिक्री वितरण तथा भण्डारण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानका क्रममा तीन दिनभित्र करिब साढे ३ लाख रुपैयाँ मूल्य बराबरका पटका बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार प्रहरीले खुर्सानी पटका, चक्र, फूलझरी, रकेट पटका, आलु बम र झिरझिरेसहित ११ प्रकारका आतिशबाजीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।
पटका तथा अन्य विस्फोटकजन्य आतिशबाजीको प्रयोगबाट आगलागी, दुर्घटना तथा मानवीय र भौतिक क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण अभियानलाई थप कडा बनाइएको प्रवक्ता मल्लले बताए ।
कानुनले पटका तथा विस्फोटकजन्य आतिशबाजीको ओसारपसार, बिक्री वितरण, भण्डारण र उत्पादनमा प्रतिबन्ध लगाएकाले यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
चाडपर्वका नाममा पटका पड्काउँदा आगलागी तथा अन्य अप्रिय घटना हुन सक्ने भएकाले आतिशबाजीजन्य पदार्थको प्रयोग नगरी सुरक्षित र मर्यादित रूपमा दीपावली तथा छठ पर्व मनाउन पनि पर्सा प्रहरीले अपिल गरेको छ ।