सर्लाहीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर जुवा तथा तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।
बरहथवा नगरपालिका–९ मुर्तियाबाट कौडा खेलिरहेको अवस्थामा सोही स्थानका लालकृष्ण गुरुङसहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३६ हजार ५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, लालबन्दी नगरपालिका–४ हरिभवन टोलस्थित ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार रुपैयाँ, ६ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवै घटनामा पक्राउ परेका ११ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।