नागरिक समाज राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायत पूर्वाधार निर्माण भइसकेकाले यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत क्षेत्रका पर्यटकीय स्थलमा भ्रमण गर्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गरे ।
राँझा–बाँके समाजले विमानस्थललाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गर्न माग गर्दै सरकारसँग आग्रह गरेको हो । यसले नेपालगन्ज क्षेत्रका उद्योग, व्यवसाय, होटल, पर्यटन र यातायात क्षेत्रमा प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ । समाजले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूसँग उडान सञ्चालन गर्न सकिने गरी विमानस्थल विस्तार गर्न सुझाव दिएको छ ।