वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा ज्ञानदा एकेडेमी वीरगन्जले बाल एकता कलेज कलैयालाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
निर्धारित १७ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले ४ विकेटको क्षतिमा १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
ज्ञानदाका ओपनर समिम मियाँ तेली र विवेक प्रजापतिले क्रमशः १५ र २५ रन जोड्दै टोलीलाई ठोस सुरुवात दिलाए । त्यसपछि प्रियांश सर्राफले २९ रन बनाए भने जय सर्राफले अविजित ५६ रनको उत्कृष्ट पारी खेले । कप्तान चन्दन रामले १७ रनको योगदान दिए ।
बाल एकताका तर्फबाट आरिफ आलमले २ विकेट लिँदा करण साह तेली र सागर गुप्ताले समान १–१ विकेट लिए ।
१ सय ७३ रनको लक्ष्य पछ्याएको बाल एकता कलेज १६ ओभर ५ बलमा ९४ रनमै समेटियो । टोलीका ओपनर निखिल तिवारी र आरिफ आलमले क्रमशः १२ र १५ रन जोडे । करण साह तेलीले २१ र शिवकुमार कर्णले १६ रन बनाए ।
ज्ञानदाका तर्फबाट चन्दन राम र प्रियांश सर्राफले समान ३–३ विकेट लिए । मुन्ना यादवले २ विकेट हात पार्दा मोहम्मद सहिन र विवेक प्रजापतिले १–१ विकेट लिए ।
उत्कृष्ट प्रदर्शन गरेका ज्ञानदा एकेडेमीका जय सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।