गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगले अनुसन्धानका लागि थप एक महिना समय पाएको छ र भदौ २३ गते भएको दमनबारे जानकारी लिन लेखकलाई बयानमा बोलाएको हो ।
भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको अवस्थामा काठमाडौंको संसद भवन बाहिर १७ र सुनसरीको इटहरीमा २ जनासहित जम्मा १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि भदौ २४ गते भएको विध्वंसकारी प्रदर्शनमा व्यापक जनधनको क्षति भएको थियो। ती दुई दिनमा कुल ७६ जनाले ज्यान गुमाएका थिए ।
तर, यी दुई दिने आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगले अहिलेसम्म बोलाएको छैन । आयोगले ओलीलाई बयानका लागि बोलाउने तयारी, लेखकले बयान दिएपछि मात्रै गर्ने बताएको छ ।
ओलीले भने “गोली खान तयार छु, तर बयान दिन जाने छैन” भनी अडान राखेका छन् ।
यसैबीच, एमालेले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई असंवैधानिक र विवादित ठहर गर्दै आयोग खारेज हुनुपर्ने दाबी गरिरहेको छ ।