इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन नेपाल प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ (हाइप्रोफाइल) व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो, जसका आधारमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनलाई पक्राउ गरेको हो ।
काभ्रे स्थायी घर भएका पाठकले प्रेमकुमार राईसहित १० जनालाई धम्की दिएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार पाठक भारत र इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश पोस्ट गर्दै निरन्तर धम्की दिँदै आएका थिए ।
उग्रवादी संगठनको अध्यक्ष भएको दाबी गर्ने पाठकलाई लिन नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स जाने निर्णय भएको छ ।
इन्टरपोलको फिलिपिन्स शाखा तथा फिलिपिन्स अध्यागमन कार्यालयले आवश्यक कार्यविधिगत प्रक्रिया पूरा गरेपछि जानकारी दिने नेपाल प्रहरीका एक उच्च अधिकृतले बताएका छन् । ती अधिकृतका अनुसार, “कार्यविधिगत काम पूरा भएपछि खबर आउँछ, त्यसपछि यहाँबाट हाम्रो टोली जान्छ ।”
पाठकले सामाजिक सञ्जालमार्फत पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
यसअघि मङ्सिर १७ गते उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी कडा बनाउन सर्कुलर जारी गरेको थियो । साथै, प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका तीन जनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनार रहेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।