आगामी प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तयार नहुने निश्चित भएको छ । भवन निर्माणको जिम्मा लिएका व्यवसायीहरूले थप ९ महिना म्याद माग्दै निवेदन दिएका छन् ।
सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यलयका निर्देशक सुनिलकुमार ठाकुरले भने, “त्यो म्याद थपको निवेदन परामर्शदाताकहाँ पठाएका छौँ। कसरी म्याद थप्ने भन्ने विषय छलफलको चरणमा छ ।”
पाँचौँ म्याद सकिए पनि भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन। अब छैटौँ पटक म्याद थप गर्ने तयारी भइरहेको छ ।
गत कात्तिक ८ गते निर्माणाधीन संसद भवनको निरीक्षण गर्दै सहरी विकास मन्त्री कुलमान घिसिङले ठेकेदारलाई अल्टिमेटम दिँदै निर्माण कार्य तीव्रता दिन निर्देशन दिएका थिए । त्यतिबेला भवनको भौतिक प्रगति ८७ प्रतिशत रहेको थियो । तर करिब साढे दुई महिना बितिसक्दा पनि काम लगभग रोकिएको अवस्थामा छ ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यलयका सूचना अधिकारी रञ्जनकुमार दासका अनुसार मुख्य सिभिल कामहरू सकिए पनि प्राविधिक र फिनिसिङका केही कामहरू बाँकी छन् । विशेषगरी एचभीएसी, हिटिङ, भेन्टिलेसन, एयर कन्डिसनिङ र एमइपी (मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ) तर्फका कामहरू बाँकी छन् । उनले भने, “थोरै काम बाँकी छ, म्याद थप्दा ठेकेदारले सक्ने अवस्था छ ।”
निर्माणाधीन भवनको इन्टेरियरको काम नसक्दा ढिलाइ भइरहेको छ । यस भवनको शिलान्यास २०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । इन्टेरियरको कामका लागि करिब २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ (भ्याटसहित) ठेक्का दिइएको थियो ।
भवन निर्माण २०७६ असोज १६ गतेदेखि सुरु भएको थियो र निर्माणमा अब ६ वर्ष बितिसक्यो । पाँचौँ म्याद सकिएको र छैटौँ म्याद थप्ने तयारी भइरहेको छ ।
भवनको कुल लागत ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) बाट सुरु भएको थियो, जुन भेरिएसनसहित ६ अर्ब २९ करोड पुगेको छ ।
निर्माण सम्झौता अनुसार ०७९ असोज १६ गते भवन सम्पन्न हुने समय तोकिएको थियो । तर कोरोना महामारी र अन्य कारणले गर्दा पहिलो म्याद थप ०८० वैशाख १४ गतेसम्म, दोस्रो म्याद ०८० असोज १६ गतेसम्म, तेस्रो म्याद ०८० चैत १९ गतेसम्म, चौथो म्याद ०८१ चैत १८ गतेसम्म, र पाँचौँ म्याद ०८२ पुस १६ गतेसम्म गरिएको थियो ।
यसैबीच, बाँकी १२ प्रतिशत काम पूरा गर्न छैटौँ म्याद थप गर्न निर्माण व्यवसायीले निवेदन दिएका छन् ।