नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई भर्ना प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।
सूचनाअनुसार यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म उम्मेदवारले १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक तथा सुरक्षा सङ्गठनमा गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई प्राथमिकताका आधारमा निर्वाचन प्रहरीका रूपमा छनोट गरिनेछ ।
त्यस्तै, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्य सम्पादन गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि निर्वाचन प्रहरीमा छनोट गरिने प्रवक्ता काफ्लेले जानकारी दिए ।
उनका अनुसार आवेदकमध्येबाट माघ ५ गतेदेखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ । चयन भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण प्रदान गरिने कार्यतालिका रहेको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । निर्वाचनको अवधिका आधारमा कार्यअवधि हेरफेर भएमा सोहीअनुसार लागू हुने जनाइएको छ । निर्वाचन प्रहरी छनोटका लागि सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ ।
निर्वाचन प्रहरीको सुविधा
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि कुल ३४ हजार ७७६ रुपैयाँ पाउनेछन् ।
सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाएसरहको दररेटअनुसार ४० दिनका लागि खाद्यान्नबापतको रकम निर्वाचन प्रहरीको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।
त्यस्तै, निर्वाचनको क्रममा खटिने स्थानमा आउने–जाने तयारीस्वरूप प्रतिनिर्वाचन प्रहरीलाई एक पटकका लागि एकमुष्ट ८ सय ४६ रुपैयाँ तयारी खर्च दिइनेछ । प्रतिदिन ३ सय रुपैयाँका दरले चार दिनका लागि एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्चसमेत उपलब्ध गराइनेछ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकम पनि निर्वाचन प्रहरीले पाउनेछन् ।
कर्तव्य पालनको क्रममा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयंले र मृत्यु भएको अवस्थामा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था गरिएको छ ।