इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघात भएपछि उनलाई नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
फिल्मकर्मी राजेश घतानीले कान्तिपुरसँग कुरा गर्दै भने,
“उहाँ दिल्लीमै हुनुहुन्थ्यो। आज बिहान उहाँको निधन भएको खबर पाएँ। उहाँको परिवार र नजिकका आफन्तबाट मैले यो जानकारी पाएको हुँ ।”
गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङको निधनको पुष्टि गरेका छन् ।
“दार्जिलिङमा रहनु भएका हाम्रा संगीतकर्मी साथीहरूले उहाँको निधनबारे जानकारी दिएपछि मैले थाहा पाएँ,” उनले लेखेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा सांगीतिक कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै तामाङलाई हृदयघात भएको थियो । निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन ।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ साधारण परिवारबाट उठेर अन्तर्राष्ट्रिय पहिचान बनाएका कलाकार थिए । सानै उमेरमा पिताको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा सेवा गरेका थिए । प्रहरी ब्यान्डमा रहेर गीत गाउँदै उनले संगीत यात्रालाई निरन्तरता दिएका थिए ।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ जितेपछि उनी भारतभरि मात्र होइन, विदेशमा रहेका नेपाली तथा भारतीय दर्शक–श्रोतामाझ पनि अत्यन्त लोकप्रिय बने ।
राजेश घतानीले भने,
“आज धेरै नेपाली कलाकार ठूला मञ्च र रियालिटी शोसम्म पुग्न सक्नुको कारण प्रशान्त तामाङ नै हुन् । उहाँले बाटो खोल्नुभएको हो ।”
प्रशान्त तामाङको असामयिक निधनले नेपाली तथा भारतीय संगीत क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ ।