रोल्पा, थवाङ अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढाले संसारका सातै महादेशका सर्वोच्च शिखर आरोहण (सेभेन समिट) पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।
६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण गरेपछि उनी खुशी साट्न सिधै नेपाल फर्किएका हुन् । पूर्वगोरखा सैनिकसमेत रहेका बुढाले ‘सपनाहरूको विजय – ७ शिखर’ अभियानअन्तर्गत विश्वका सबै महादेशका सर्वोच्च हिमाल चढेका हुन् ।
सन् २०१० मा अफगानिस्तानमा भएको लडाइँका क्रममा विस्फोटमा परी दुवै खुट्टा गुमाएका बुढाले त्यसपछि पनि जीवनका चुनौतीहरूलाई जित्दै पर्वतारोहण यात्रालाई निरन्तरता दिएका थिए । सगरमाथा आरोहणपछि उनले सातै महादेशका शिखर चढ्ने लक्ष्य लिएको बताएका थिए ।
यस अभियानअन्तर्गत उनले माउन्ट एल्ब्रुस (२०१९), माउन्ट किलिमाञ्जारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अकोन्कागुवा (२०२५), कार्स्टेन्स पिरामिड (पुन्चक जया) (२०२५) र अन्ततः माउन्ट भिन्सन (२०२६) आरोहण गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूमा आत्मविश्वास जगाउन र समाजमा सचेतना फैलाउन यो अभियान सुरु गरेको बताउँदै बुढाले भने, “यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौँ र कहिल्यै हार मान्दैनौँ भने जीवनका कुनै पनि चुनौती असम्भव हुँदैन । मैले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेँ र आज सातै महादेशका शिखर चढ्न सफल भएको छु ।”
उनको यो उपलब्धिलाई नेपाली पर्वतारोहण इतिहासको एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।