आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा यो दिवस मनाइने गरिन्छ ।
सरकारले यस अवसरमा आज सार्वजनिक बिदा दिएको छ । वि.सं. १७७९ सालमा जन्मिएका शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ ।
शाहले आधुनिक नेपालको एकीकरणमा पुर्याएको योगदानको स्मरण गर्दै सिंहदरबारको पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान प्रकट गरिन्छ ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान समारोह आयोजना गरेको छ। शाहको जन्मस्थान गोरखामा पनि विशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
नेपाली सेनाले पनि हरेक वर्षझैँ आज सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ ।
वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएका पृथ्वीनारायण शाहका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शाहका दिव्य उपदेश राष्ट्रियता, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र तथा सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
त्यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीका अवसरमा सन्देश जारी गर्दै देश अहिले सङ्कटमा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।