सल्यान, सिद्धकुमाख गाउँपालिका–२ टाकुरा — भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्कीमा आगलागी र ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।
स्थानीय स्रोतका अनुसार, राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको थियो। आगलागीका क्रममा पसलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा धनबहादुर विक (३३), उनकी पत्नी कविता विक (३२), छोरी राधा विक, रेनुका विक, छोरा राजन विक, काशिराम विक (४७), उनकी पत्नी टीका विक (३२), छोरी अनु विक (१२) र किरण विक (७) को मृत्यु भएको छ ।
घटनामा परेका प्रेम विकले जानकारी दिंदै भने, “धनबहादुर विक र काशिराम विकका परिवार पसलको माथिल्लो कोठामा सुतिरहेका थिए। सिलिन्डर पड्किँदा सबैको शव छियाछिया परेर चिन्नै नसकिने अवस्थामा पुगेको छ। नजिकैको घरमा सुतिरहेका चार जना परिवार भागेर बच्न सफल भएका छन् ।”
सिद्धकुमाख–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले मृत्यु भएको घटना थाहा पाएपछि वडा शोकमा डुबेको र मंगलबार शोकवृत्ति दिने निर्णय गरिएको बताए। उनी भन्छन्, “सरकारले गाउँघरमै रोजगारको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका नेपालीहरू अझै भारतको विभिन्न स्थानमा मजदुरी गर्न बाध्य छन्। कहिले बाढी, पहिरो, दुर्घटना वा आगलागीमा परेर जीवन गुमाइरहेका छन् ।”
हाल हिमाचल प्रदेश सुरक्षाकर्मीको टोली शव संकलनमा जुटेको छ। सिलानको अर्कीमा रहेका स्थानीयसँग परामर्शपछि शव दाहसंस्कार त्यहाँ गर्ने कि घर ल्याउने भन्ने निर्णय गरिनेछ ।