पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान बुधबार पर्सागढी नगरपालिकाको वडा नं. ८ स्थित हरपुरमा सम्पन्न भएको छ । अभियानअन्तर्गत स्थानीय अगुवा कार्यकर्ताहरूको भेला आयोजना गरिएको थियो ।
भेलामा जनता समाजवादी पार्टी (जसपा)सँग आबद्ध स्थानीय अगुवाहरूले क्षेत्रका विविध समस्या र जनताको अपेक्षाबारे उम्मेदवार टेमानीलाई जानकारी गराएका थिए । उनीहरूले विगतमा पटक–पटक नेताहरूलाई जिताए पनि विकास र जनसमस्याको समाधान नहुँदा निराशा बढेको गुनासो गरेका थिए ।
कार्यकर्ताहरूले यसपटक विकासप्रेमी, अनुभवी तथा शिक्षित उम्मेदवारका रूपमा जसपाका अशोक टेमानीलाई अत्यधिक मतका साथ विजयी गराउन मतदाताहरूसँग आग्रह गरेका छन् । साथै, विभिन्न पार्टीका नेताहरूले प्रलोभन देखाएर भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै त्यसबाट सचेत रहन समेत अनुरोध गरेका थिए ।
पर्सागढी नगरपालिकामा जसपाको बलियो उपस्थिति रहेको दाबी गर्दै उनीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीप्रति अडिग रहन मतदातालाई आह्वान गरे । अन्य पार्टी प्रवेश गरेको हल्ला निराधार भएको भन्दै भ्रममा नपर्न आग्रह गरिएको थियो ।
भेलामा सहभागी अगुवाहरूले जनताको समस्याबारे निरन्तर सुन्दै समाधानको प्रयास गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टी जनसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । विकासका लागि पार्टीको नेतृत्व आवश्यक रहेको बताउँदै उनीहरूले छाता छापमा मतदान गर्न आग्रह गरे ।
कार्यकर्ताहरूले विगतमा केही नेताहरू स्वार्थका लागि मात्र भोट मागेर जितेपछि जनताको समस्या बुझ्न नआएको आरोप लगाएका छन् । यसपटक भने जनताको सेवाको भावना लिएर उम्मेदवार टेमानी घरदैलोमा आएको भन्दै उनलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
भेलामा उठेका गुनासोहरू सम्बोधन गर्दै उम्मेदवार अशोक टेमानीले आफू क्षेत्रका समस्या प्रति जानकार रहेको बताए । उनले जनताको सेवा गर्ने उद्देश्यले नीतिगत तहमा पुग्न निर्वाचनमा सहभागी भएको उल्लेख गरे । टेमानीले विगतमा पनि सामाजिक सेवामा सक्रिय रहेको र अब संसदमार्फत जनताको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै जसपाको छाता छापमा मतदान गर्न मतदातासँग आग्रह गरे ।