राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति, निवर्तमान सांसद तथा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले धर्मसँग जोडेर आफूविरुद्ध गलत प्रचार गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने तथा धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले सामग्री फैलाइएको आरोप लगाउँदै उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका हुन् ।अनलाइनमार्फत दर्ता गरिएको उजुरीमा उनले बागमती प्रदेशका सांसद लक्ष्मी घिमिरे र अर्का व्यक्ति मीनबहादुर लामा लगायतले आफूविरुद्ध फैलाइएका सामग्री सामाजिक सञ्जालमा सेयर तथा प्रवर्द्धन गरेको दाबी गरेका छन् । ती सामग्री हटाई दोषीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न उनले आग्रह गरेका छन् ।
डा. वाग्लेले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धर्म, आस्था र व्यक्तिगत विचारलाई तोडमोड गरी प्रस्तुत गरिएको उल्लेख गरेका छन् । त्यस्ता सामग्रीहरूले समाजमा नकारात्मक धारणा फैलाउने तथा द्वेष र उत्तेजना सिर्जना गर्ने काम गरिरहेको उनको भनाइ छ । ‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ उजुरीमा उल्लेख गर्दै उनले यसले आफ्नो व्यक्तिगत प्रतिष्ठामा क्षति पुगेको र सामाजिक सद्भावमा समेत असर परेको बताएका छन् । डा. वाग्लेले आफू हिन्दु र बौद्ध धर्मका मूल्यमान्यता तथा विविधतामा आधारित नेपाली समाजको आपसी सम्मान र सहिष्णुतामा विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारेका छन् ।
राजनीतिक उद्देश्यका लागि गलत सूचना तथा फेक सामग्री प्रयोग गरी जनमत प्रभावित गर्ने प्रयास भएको भन्दै उनले यसलाई गम्भीर आपराधिक कार्यका रूपमा लिन आग्रह गरेका छन् । उनले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार यस्ता गतिविधि दण्डनीय अपराध हुने उल्लेख गर्दै सम्बन्धित व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
कम्प्युटर, इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाइएको भन्दै दोषीलाई कानुनअनुसार सजाय दिनुपर्ने माग उजुरीमा गरिएको छ ।