आसिफ शेखको आक्रामक ब्याटिङको मद्दतमा नेपालले क्यानडालाई पराजित गर्दै ट्वान्टी–२० विश्वकपअघिको अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार चेन्नईमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो र नेपाललाई १६२ रनको लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले १२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन बनाए । सन्दीप जोराले ३० बलमा ४४ रनको योगदान दिए। गुलशन झाले अविजित ३१ रन जोडे ।
क्यानडाका बलर जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्दालले समान १/१ विकेट लिए ।
पहिले ब्याटिङतर्फ क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रन बनाए। श्रेयस मोवाले ३८ रन बनाउँदा जसकरण सिंहले २१ रन जोडे ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २/२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।
यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको नेपालले अभ्यास खेलमा लगातार जित हासिल गरेको यो पहिलो अवसर हो । यसअघि सन् २०१४ को विश्वकपमा नेपाल आयरल्यान्ड र यूएईसँग अभ्यास खेलमा पराजित भएको थियो ।