नेपाली टोलीका अफ स्पिनर शेर मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा स्वर्णिम सुरुवात गरेका छन् ।
ट्वान्टी–२० विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै फिल सल्टको विकेट लिँदै उत्कृष्ट सुरुवात गरेका हुन् ।
खेलको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका शेरले सल्टलाई सर्ट फाइन लेगतर्फ क्याच गराएका थिए। सल्टले फ्लिक गर्न खोजेको बल टप एज लागेर सन्दीप लामिछानेको हातमा पुगेको थियो ।
दुई महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वाधिक संयुक्त १७ विकेट लिएपछि शेरले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
यद्यपि त्यसपछि आएका ब्याट्सम्यान ज्याकोब बेथलले शेरमाथि दुई छक्का र एक चौका प्रहार गर्दै दबाब सिर्जना गरेका थिए ।
डेब्यु ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै विकेट लिने शेर नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पारस खड्काले सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा हङकङविरुद्ध पहिलो बलमै विकेट लिएका थिए ।
संयोगवश, उक्त ऐतिहासिक कीर्तिमान बनाएका पारस खड्काले नै आइतबार वानखेडे रंगशालामा शेर मल्ललाई डेब्यु क्याप प्रदान गरेका थिए ।