राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।
त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि विस्तृत छलफल गरिएको थियो । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै संघीय संरचना र नयाँ प्रविधिअनुसार बनाउन सरकारले यो विधेयक तर्जुमा गरेको हो ।
त्यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, राष्ट्रियसभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले आफ्नो कार्यकालका अनुभव र योगदानसम्बन्धी धारणा व्यक्त गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबारका लागि बोलाइएको छ ।