श्री आदर्श पशुपति क्लब, बिरगञ्जको आयोजनामा सातौँ इन्डो–नेपाल महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिता आजदेखि वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सुरु भएको छ ।
प्रतियोगितामा मित्रराष्ट्र भारतबाट ४ र नेपालबाट २ गरी कुल ६ वटा पुरुष टोली सहभागी छन् । त्यसैगरी, महिला तर्फ नेपाल र भारतबाट एक–एक टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सन्तोष गुप्ताले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनीष सिंहले जिल्लाका क्रिकेट खेलाडीहरूको विकास तथा प्रवर्द्धनका लागि संघले सक्दो सहयोग गर्ने र खेलाडीहरूको हक–हितका पक्षमा सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन खेलमा आयोजक श्री आदर्श पशुपति क्लब र भारतको छत्तीसगढ टोलीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको छत्तीसगढ टोलीले १८.५ ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो र आयोजक टोलीलाई १६४ रनको लक्ष्य प्रस्तुत गर्यो ।
जवाफमा श्री आदर्श पशुपति क्लब १७.४ ओभरमै सबै विकेट गुमाउँदै १२० रनमा समेटियो। यससँगै छत्तीसगढ टोलीले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
उक्त खेलको ‘म्यान अफ द म्याच’ छत्तीसगढका गोपाल कुमार घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष सन्तोष गुप्ताका अनुसार प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ ।