जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गर्दै विमानस्थल क्षेत्रभित्र कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा नाराजुलुस नगर्न सूचना जारी गरेका हुन् ।
विमानस्थल क्षेत्रलाई अत्यन्त संवेदनशील मान्दै शान्ति–सुरक्षा, आवागमन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय उडान सेवामा असर नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार निर्वाचनको तयारीमा सरकारी निकायहरू परिचालित भइरहेका बेला फागुन १ गते विमानस्थल क्षेत्रमा केही समूह तथा राजनीतिक दलले प्रदर्शन, र्याली तथा भेला गर्ने योजना सार्वजनिक गरेको पाइए पनि प्रशासनसँग पूर्वस्वीकृति भने लिइएको थिएन ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको प्रशासनले जनाएको छ । साथै, निर्वाचन विरोधी समूहको घुसपैठ हुन सक्ने सम्भावना, फागुन ३ गतेको महाशिवरात्रि पर्व व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, यात्रुहरूको सहज आवागमन, सार्वजनिक यातायात सञ्चालन तथा सर्वसाधारणको आवतजावतमा अवरोध नआओस् भन्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।
निषेधित क्षेत्रमा कानून विपरीत गतिविधिमा संलग्न हुने जो–सुकैलाई कानुनी कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ । यसैबीच, राप्रपाका केही नेताहरू तथा दुर्गा प्रसाईंलगायतले पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदा विमानस्थलमा स्वागत कार्यक्रम गर्ने आह्वान गरेका थिए ।
प्रशासनका अनुसार विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भीडभाड हुँदा तोडफोड, आगजनी, भिडन्त तथा हुलदङ्गा जस्ता अवाञ्छित घटना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
निषेधाज्ञा अन्तर्गत विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक टर्मिनल, अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायत सम्पूर्ण हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई धर्ना, जुलुस, प्रदर्शन, सभा वा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।
उक्त क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा लागू रहने प्रशासनले जनाएको छ ।
-1770869651.jpg)
-1770872675.jpg)