नेपालले आज ट्वान्टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीको सामना गर्दैछ। वानखेडे स्टेडियममा हुने यो खेल नेपालका लागि १२ वर्षपछि ट्वान्टी–२० विश्वकपमा पहिलो जित निकाल्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
यसपटकको प्रतियोगिता नेपालका लागि तेस्रो ट्वान्टी–२० विश्वकप सहभागिता हो । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो भने त्यसपछि सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो ।
सन् २०२४ को विश्वकपमा नेपालले कुनै खेल जित्न सकेको थिएन । त्यसैले अमेरिका विश्वकप नेपालको लागि निराशाजनक रह्यो । तर सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
त्यसबेला पारस खड्काको कप्तानीमा खेलेको नेपाली टोलीलाई अहिले पनि स्वर्णिम पुस्ताका रूपमा लिइन्छ । नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो । अंक बराबरी भए पनि नेट रन रेटका आधारमा नेपाल दोस्रो चरणमा पुग्न सकेन । यद्यपि सोही प्रदर्शनका कारण नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता पाएको थियो ।
हालसम्म नेपालले ट्वान्टी–२० विश्वकपमा कुल सात खेल खेलेको छ । जसमध्ये दुई खेल जितेको, चार खेल हारेको र एक खेलको नतिजा नआएको तथ्यांक छ । त्यसैले पनि नेपाल यसपटक विश्वकपमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा रहेको छ ।