मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा भएको अवरोध एक महिनापछि बिहीबारदेखि हटेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजना निर्माणको कारण दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडक अन्तर्गत मालिका–५ र धवलागिरि–७ को सिमानामा पुल निर्माण ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको वर्षसम्म पनि पुल निर्माण सुरु नभएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका थिए। गत पुस २५ गतेदेखि धवलागिरि गाउँपालिकाका बासिन्दाले आयोजनाको निर्माण रोक्का गरेका थिए ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार, स्थानीयवासीको माग अनुसार चालु आर्थिक वर्षभित्र मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता मिल्दा राजनीतिक दल र स्थानीय अगुवासँग परामर्श गरेर आन्दोलन फिर्ता लिने निर्णय गरिएको हो। यससँगै जलविद्युत आयोजना निर्माण कार्य पनि पुनः सुचारु गरिएको छ ।
धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी जति सक्दो छिटो पुल निर्माण सुरु र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु १ करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।
विसं २०७७ जेठ २० गते १८ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गर्ने तयारी भइरहेको अवस्थामा, बाँधको डुबान क्षेत्र पर्ने हुँदा आयोजनाले प्रस्ताव भन्दा २०० मिटर माथि पुल बनाउन प्रदेश सरकारसँग आग्रह गरेको थियो । सरकारी निकायले पुल निर्माण नगरेको खण्डमा आयोजनाले नै पुल निर्माण गर्ने सहमति भएको थियो ।
पहिलाको अस्थायी मोटरेबल पुल जीर्ण भएकाले गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावतमा समस्या परेको थियो ।