स्वास्थ्य बिमा बोर्डले बीमितले पाउने रु एक लाख बराबरको उपचार सुविधा घटाइएको छैन भन्ने स्पष्ट पारेको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, पाँच सदस्यसम्मको परिवारले वार्षिक रु ३ हजार ५०० योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा पाउँछ । यसमा रु २५ हजार ओपिडी (बहिरङ्ग) सेवा र रु ७५ हजार अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याइएको छ ।
थप सदस्यको लागि रु ७ सय योगदान थपिँदा रु २० हजार सेवा सुविधा थपिने व्यवस्था पनि रहेको छ । बोर्डले अनावश्यक ओपिडी प्रयोग र दोहोरो खर्च रोक्न तथा गम्भीर रोग र जटिल उपचारका लागि स्रोत सुनिश्चित गर्न रकम छुट्याएको जनाएको छ ।
सूचना अधिकारी मल्लका अनुसार, पाँच सदस्यको परिवारले वर्षभरिमा बढीमा रु २ हजार ५०० बराबरको ओपिडी सेवा लिन पाउने व्यवस्था छ । पाँच सदस्यभन्दा बढी भएकाले अतिरिक्त सदस्यले रु ५ हजार बराबरको ओपिडी सेवा पाउनेछन् ।
हाल स्वास्थ्य बिमाको बजेटको ७०% भन्दा बढी सामान्य बिरामीको ओपिडी सेवामा खर्च भइरहेका कारण, गम्भीर रोग वा महँगो शल्यक्रियामा बिमाको रकम अपर्याप्त हुन सक्ने र बिरामीको आफ्नै खर्च बढ्न सक्ने अवस्था देखिएको छ ।
बोर्डले ओपिडी, अस्पताल भर्ना र शल्यक्रियाका लागि छुट्टाछुट्टै रकम तोकिएको र त्यसको पालना गर्न सबैलाई आग्रह गरेको छ ।