फितलो ब्याटिङ गरेको नेपाल ट्वान्टी–२० विश्वकपमा इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकप खेलिरहेको इटालीले एकतर्फी खेल प्रदर्शन गर्दै नेपाललाई कुनै अवसर दिएन ।
मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । लक्ष्य पछ्याएको इटालीले मोस्का दाजुभाइ जस्टिन र एन्थोनीको आक्रामक ब्याटिङमा १२.४ ओभरमै लक्ष्य पूरा गर्यो ।
इटालीका लागि जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६० रन बनाए भने एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६२ रन बनाए । पावर प्लेको ६ ओभरमै विकेट नगुमाई ६८ रन बनाएको इटालीले १० ओभरमा ९७ रन जोड्दै खेल आफ्नो पक्षमा पारिसकेको थियो ।
यसअघि नेपालको सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै १० बलमा ५ रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो । ६ ओभरमा ४६–१ को अवस्थामा रहेको नेपाल १० ओभरमा ६७–३ मा सीमित भयो ।
कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन बनाए । आसिफ शेखले २० बलमा २ चौका सहित २० रन जोडे । दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाएर बोल्ड भए भने लोकेश बम ३ रनमै आउट भए ।
इटालीका अफब्रेक बलर बेन मानेन्टीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । कालुगामागेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । गुलशन झाले ४ बलमा ३ रन मात्रै बनाउन सके भने नन्दन यादव शून्य रनमा रनआउट भए ।
अन्तिमतिर करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि १४ बलमा २१ रनको साझेदारी गरे । करण ११ बलमा १८ रन बनाएर अविजित रहे भने सन्दीप ७ बलमा ५ रन बनाएर आउट भए । ललित राजवंशी शून्य रनमै रनआउट भए ।