अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डलाई मध्यपूर्वमा तैनाथ गर्न आदेश दिएका छन् । बीबीसीले शुक्रबार प्रकाशित समाचारमा यसलाई पुष्टि गरेको छ ।
ट्रम्पका अनुसार, “विमानवाहक पोत चाँडै मध्यपूर्वका लागि रवाना हुनेछ । यदि इरानसँग सम्झौता भएन भने यूएसएस जेराल्ड आर फोर्डको आवश्यकता पर्नेछ ।”
यसअघि एसोसिएटेड प्रेसले विमानवाहक पोतलाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिइएको समाचार प्रकाशित गरेको थियो ।
ट्रम्पले इरानमा सत्ता परिवर्तनबारे पनि टिप्पणी गर्दै भने, “सत्ता परिवर्तन सबैभन्दा राम्रो कुरा हुनेछ, जुन हुन सक्छ ।”
ट्रम्पको आदेशपछि अमेरिकी नौसेनाको सबैभन्दा आधुनिक यूएसएस जेराल्ड आर फोर्ड, अब्राहम लिंकन विमानवाहक पोत र सम्बन्धित टास्क फोर्स मध्यपूर्वमा तैनाथ हुनेछन् । अब्राहम लिंकन विमानवाहक पोत गत महिनाको अन्त्यतिर मध्यपूर्व पुगेको थियो ।
यूएसएस जेराल्ड आर फोर्ड एक परमाणु रिएक्टरयुक्त विमानवाहक पोत हो, जसले एफए–१८ सुपर हर्नेट र ए–२ हकआई विमानसहित ७५ भन्दा बढी लडाकू विमानहरू लैजान सक्छ ।
परमाणु रिएक्टर भनेको विशेष प्रकारको यन्त्र हो, जसले परमाणु विखण्डन प्रक्रियाबाट ठूलो मात्रामा ऊर्जा उत्पादन गरी बिजुली उत्पादन गर्न प्रयोग हुन्छ ।